Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Job 24 ONCV

Side by side with the Father's Heart Bible™

1“किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन?किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ?

2मानिसहरू जमिनका सिमानाका ढुङ्गाहरू हटाउँछन्;तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्।

3तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्,र विधवाको गोरु बन्धकमा लैजान्छन्,

4तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्;र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्।

5मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै,गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्;तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ।

6तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्,र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्।

7लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्;जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन।

8तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्,र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्।

9अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ;गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ।

10लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्;तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्।

11तिनीहरूले खेतका गराहरूमा जैतुन पेलेर तेल निकाल्छन्;तिनीहरूले कोलमा दाख पेलेर रस निकाल्छन्, तर आफैँ भने तिर्खाले व्याकुल भएका हुन्छन्।

12मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ,र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ;तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ।

13“ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्,जसले ज्योतिका मार्गहरू जान्दैनन्,अथवा ज्योतिको मार्गमा रहँदैनन्।

14जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्;तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्,र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्।

15व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ;त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’र त्यसले आफ्नो अनुहार लुकाउँछ।

16रातमा चोरहरूले घरहरू फोर्छन्,तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्;तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्।

17तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो;तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्।

18“तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्;तिनीहरूको जमिनको भाग श्रापित छ;त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्।

19गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ,चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ।

20गर्भले तिनीहरूलाई भूलिहाल्छ;किराले तिनीहरूमाथि भोज गर्छन्;दुष्‍ट मानिसहरूको सम्झना रहँदैन,र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्।

21तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्,र विधवालाई कुनै दया देखाउँदैनन्।

22तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ;तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्‍चयता हुँदैन।

23उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला,तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्।

24केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्;तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ;तिनीहरू अन्‍नका बालाहरू काटिएजस्तै काटिनेछन्।

25“यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ,र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]