Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Jonah 3 ONCV

Side by side with the Father's Heart Bible™

योना निनवेमा गएका

1त्यसपछि याहवेहको वचन दोस्रो पटक योनाकहाँ आयो: 2“त्यो ठूलो सहर निनवेमा जा, र मैले तँलाई दिएको सन्देश जे छ, त्यसलाई घोषणा गर्।”

3योनाले याहवेहको वचन पालन गरेर निनवेमा गए। निनवे एक ठूलो सहर थियो; यस सहरलाई पार गर्नलाई तीन दिन लाग्थ्यो। 4योना सहरभित्र पसेर एक दिनको बाटोसम्म यात्रा गरेपछि तिनले परमेश्‍वरको सन्देश घोषणा गर्न सुरु गरे: “अब चालीस दिनमा निनवे सहर नष्‍ट पारिनेछ।” 5निनवेका मानिसहरूले परमेश्‍वरको सन्देशलाई विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे; अनि सानादेखि ठूलासम्म सबैले भाङ्ग्रा लगाए।

6जब यो खबर निनवेका राजाकहाँ पुग्यो, तब तिनी आफ्नो सिंहासनबाट उठे; आफ्नो राजकीय पोशाक फुकाले र भाङ्ग्रा ओढेर खरानीमा बसे। 7त्यसपछि राजाले निनवेमा यस्तो घोषणा जारी गरे: राजा र तिनका अधिकारीहरूका उर्दीअनुसार: “मानिस वा पशुप्राणी, गाईबस्तु वा भेडाबाख्रा, कसैले पनि केही खानेकुरा नचाखोस्; तिनीहरूलाई खान वा पिउन नदिइयोस्।

8तर मानिस र पशुप्राणीहरू सबैले भाङ्ग्रा ओढून्, र तुरुन्तै सबैले परमेश्‍वरलाई पुकारून्। तिनीहरूले आफ्ना दुष्‍ट चालहरू छोडून् र आफ्ना हिंसा त्यागून्। 9कसले जान्दछ? हामी नाश नहोऔँ भनी परमेश्‍वरले अझै पनि आफ्नो मन बदल्नुहुन्छ, वा दयाले भरिएर आफ्नो भयङ्कर क्रोधबाट फर्कनुहोला कि।”

10जब परमेश्‍वरले तिनीहरूले गरेका काम र तिनीहरू आफ्ना दुष्‍ट चालहरूबाट फर्केको देख्नुभयो, तब उहाँ दयाले भरिनुभयो र उहाँले दिनुभएको सर्वनाशको धम्की तिनीहरूमाथि ल्याउनुभएन।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]