Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Ruth 3 ONCV

Side by side with the Father's Heart Bible™

खलामा रूथ र बोअज

1एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, मैले तिम्रो निम्ति एउटा घर खोज्नुपर्छ, जहाँ तिम्रो निम्ति सबै कुराको प्रबन्ध भएको होस्। 2बोअज जसका सेविकाहरूसित तिमी छौ, ती हाम्रा नातेदार हुन्। आज राति तिनी खलामा जौ बत्ताउन जानेछन्। 3यसैले नुहाएर अत्तर लगाऊ, र तिम्रो सबैभन्दा असल लुगा लगाऊ। त्यसपछि तल खलामा जाऊ; तर उनले खानपिन गरी नसकुन्जेल तिमी त्यहाँ छौ भनी उनलाई थाहा नहोस्। 4जब उनी सुत्छन्, उनी सुतेको ठाउँ याद गर। त्यसपछि जाऊ र उनको खुट्टाको ओढ्ने उठाऊ, र ढल्क। त्यसपछि के गर्नुपर्छ उनले नै तिमीलाई बताउनेछन्।”

5रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्छ, म गर्नेछु।” 6यसकारण तिनी तल खलामा गइन्, र तिनले आफ्नी सासूले बताएअनुसार सबै कुरा गरिन्।

7जब बोअजले खानपिन गरिसकेपछि उनको मन खुशी भयो, तब अन्‍न थुपारेको पल्‍लो कुनामा सुत्न गए। रूथ चुपचापसित त्यहाँ गइन्; तिनका खुट्टाको ओढ्ने उठाएर त्यहीँ ढल्किन्। 8मध्यरातमा बोअजलाई केही कुराले झस्कायो, तब तिनी फनक्‍क फर्किए, र त्यहाँ आफ्नो खुट्टामा एउटी स्त्री ढल्किरहेकी थिइन्!

9तब उनले “तिमी को हौ?” भनी सोधे। तिनले भनिन्, “म तपाईंकी सेविका रूथ हुँ। तपाईंको लुगाको एक कुना मलाई पनि ओढाइदिनोस्; किनकि तपाईं हाम्रो परिवारको नजिकका मोल तिरेर छुटाउने नातेदार हुनुहुन्छ।”

10उनले जवाफ दिए, “मेरी छोरी, याहवेहले तिमीलाई आशिष् देऊन्। तिमीले पहिले देखाएको दयाभन्दा यो अझ बढी छ। तिमी जवान मानिसहरूका पछि लागिनौ, चाहे त्यो धनी होस् वा गरिब। 11अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्‍ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्। 12यद्यपि यो सत्य हो कि म छुटाउनेवाला नातेदार हुँ, तर मभन्दा पनि अझ नजिकको एक जना नातेदार छन्। 13आज राति यहीँ बस, र बिहान यदि तिनले तिमीलाई छुटाउने इच्छा गर्छन् भने असलै हुन्छ, तिनले नै छुटाऊन्। तर यदि तिनी तयार छैनन् भने म प्रतिज्ञा गर्छु, जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म यो गर्नेछु। बिहानसम्म यहीँ ढल्किबस।”

14यसकारण तिनी बिहानसम्म उनको खुट्टानेर ढल्किरहिन्। तर कसैलाई ठम्याउन सक्ने उज्यालो हुन अगि नै उठिन्। अनि बोअजले भने, “यहाँ खलामा एउटी स्त्री आएकी थिइन् भनी कसैले थाहा नपाओस्।”

15उनले यो पनि भने, “तिमीले ओढेको खास्टो यहाँ ल्याऊ, र समात।” तिनले त्यसै गरिन्, र बोअजले छ पाथी जौ हालेर तिनलाई बोकाइदिए। अनि तिनी सहरतिर फर्के।

16जब रूथ सासूकहाँ आइन्, तब नाओमीले सोधिन्, “मेरी छोरी, के भयो?” तब तिनले बोअजले जे गरेका थिए, ती सबै कुरा बताइन्।

17अनि तिनले अझै भनिन्, “उहाँले मलाई यो छ पाथी जौ दिएर भन्‍नुभयो, ‘तिम्री सासूकहाँ खाली हात नजाऊ।’ ”

18अनि नाओमीले भनिन्, “मेरी छोरी, अझै अरू के हुन्छ, सो तिमीले थाहा नपाउन्जेल धैर्य गर। किनकि आज नै सबै विषयको फैसला नगरुन्जेल त्यो मानिस चुप लागेर बस्‍नेछैन।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]