Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Joshua 23 ONCV

Side by side with the Father's Heart Bible™

इस्राएली अगुवाहरूलाई यहोशूको बिदाइ

1धेरै समय बितेपछि याहवेहले इस्राएललाई तिनीहरूका चारैतिरका सबै शत्रुहरूदेखि विश्राम दिनुभयो। अनि त्यस बेलासम्ममा यहोशू वृद्ध भइसकेका थिए। 2तब तिनले सारा इस्राएल, तिनीहरूका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाएर तिनीहरूलाई भने: “म अब धेरै वृद्ध भएको छु। 3याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति यी सबै राष्ट्रहरूलाई गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ। याहवेह तिमीहरूका परमेश्‍वर नै तिमीहरूको निम्ति लड्नुभयो। 4याद गर, मैले कसरी तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा यर्दन र पश्‍चिममा महासागरको बीचमा रहेका सबै राष्ट्रहरूलाई जितेर तिनीहरूको देश तिमीहरूका बाँकी रहेका राष्ट्रहरूलाई भाग लगाइदिएको छु। 5याहवेह तिमीहरूका परमेश्‍वर आफैँले तिनीहरूलाई तिमीहरूका निम्ति धपाइदिनुहुनेछ। उहाँले तिनीहरूलाई तिमीहरूकै सामुबाट निकालिदिनुहुनेछ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको देशमाथि अधिकार गर्नेछौ।

6“त्यसकारण अति बलियो होओ; मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरूबाट दायाँ अथवा बायाँतिर नलागी होसियारीसाथ पालन गर्नू। 7तिमीहरूका बीचमा बसोबास गर्ने यी जातिहरूसँग सम्बन्ध नराख्नू। तिनीहरूका देवी-देवताहरूका नाम नपुकार्नू, अथवा तिनीहरूका नामहरूमा शपथ नखानू। तिमीहरूले तिनीहरूको सेवा नगर्नू, अथवा तिनीहरूका सामु ननिहुरनू। 8तर तिमीहरूले अहिलेसम्म गरेझैँ याहवेह तिमीहरूका परमेश्‍वरमा विश्‍वासयोग्य भइरहनू।

9“याहवेहले तिमीहरूको सामुबाट महान् र शक्तिशाली जातिहरूलाई धपाइदिनुभयो; त्यसैले आजको दिनसम्म कोही पनि तिमीहरूको विरुद्धमा खडा रहन सकेको छैन। 10तिमीहरूमध्ये एक जनाले एक हजारलाई परास्त गर्न सक्छौ। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूका निम्ति युद्ध गरिदिनुहुन्छ। 11यसकारण याहवेह तिमीहरूका परमेश्‍वरलाई होसियारीसाथ प्रेम गर्नू।

12“तर यदि तिमीहरू तर्केर तिमीहरूका बीचमा बसोबास गर्ने बाँकी रहेका यी जातिहरूसँग तिमीहरूले सम्बन्ध राख्यौ र तिमीहरूले तिनीहरूसँग विवाह गर्‍यौ भने, 13यो निश्‍चय जानिराख—याहवेह तिमीहरूका परमेश्‍वरले यी जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछैन। बरु जबसम्म याहवेह तिमीहरूका परमेश्‍वरले दिनुभएको यस असल देशबाट तिमीहरू नष्‍ट हुँदैनौ, तबसम्म तिनीहरू तिमीहरूका निम्ति फन्दा र पासो हुनेछन्। यसकासाथै तिमीहरूका पिठिउँमा कोर्रा र तिमीहरूका आँखामा काँडासरह बन्‍नेछन्।

14“अब म सारा पृथ्वीको नियमअनुसार जान लागेको छु। याहवेह, तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको उत्तम प्रतिज्ञाहरूमध्ये एउटै पनि अपूरो रहेको छैन भनी आफ्ना सारा हृदय र प्राणले जान्दछौ। हरेक प्रतिज्ञा पूरा भएका छन्। एउटै पनि असफल भएको छैन। 15तर याहवेह तिमीहरूका परमेश्‍वरको हरेक असल प्रतिज्ञा साँचो ठहरिएझैँ, यदि तिमीहरूले उहाँको आज्ञापालन गरेनौ भने उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्‍ट नभएसम्म उहाँले तिमीहरूलाई होशियार गराउनुभएका सबै खराब कुराहरू पनि ल्याउनुहुनेछ। 16यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएको करार भङ्ग गर्‍यौ र अरू देवी-देवताको सेवा गर्दै तिनीहरूका सामु निहुर्‍यौ भने याहवेहको क्रोध तिमीहरूमाथि पर्नेछ। अनि उहाँले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरू चाँडै नै नाश हुनेछौ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]