Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Joshua 11 ONCV

Side by side with the Father's Heart Bible™

उत्तरका राजाहरू परास्त भएका

1जब हासोरका राजा याबीनले यो सुने, तब तिनले मादोनका राजा योबाब, शिम्रोन र अक्षापका राजाहरूलाई, 2साथै उत्तरी पहाडहरूमा भएका किन्‍नरेतको दक्षिण अराबामा, पश्‍चिमी फेदीमा र पश्‍चिममा नापोत-डोरमा भएका राजाहरूलाई; 3पूर्व र पश्‍चिममा कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्जीहरू र पहाडी मुलुकका यबूसीहरू, र मिस्पा इलाकामा हेर्मोनको मुन्तिरका हिव्वीहरूलाई खबर पठाए। 4तिनीहरू आ-आफ्ना सबै फौजहरूसँग समुद्रको किनारका बालुवासरह गन्‍नै नसकिने गरी घोडाहरू र रथहरूको ठूलो संख्या भएको विशाल सेना लिएर निस्किआए। 5यी सबै राजाहरूले सेनाहरू लिएर मेरोमको ताल नजिक इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ छाउनी हाले।

6याहवेहले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसँग नडरा; किनकि भोलि यस बेलासम्ममा म तिनीहरू सबैलाई मारेर इस्राएलको हातमा सुम्पिदिनेछु। तैँले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिनू र तिनीहरूका रथहरू जलाइदिनू।”

7यसकारण यहोशू र तिनका सम्पूर्ण फौजले मेरोमको तालमा अचानक आएर तिनीहरूमाथि आक्रमण गरे। 8अनि याहवेहले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूलाई परास्त गरेर विशाल सीदोनदेखि मिस्रापोत-मैमसम्म, र एउटै पनि जीवित नरहेसम्म पूर्वको मिस्पाको बेँसीसम्म खेदे। 9याहवेहले निर्देशन दिनुभएअनुसार यहोशूले त्यसै गरे। तिनले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिए, र तिनीहरूका रथहरू जलाइदिए।

10त्यस समयमा यहोशू फर्के, र हासोरलाई कब्जा गरे। अनि त्यसका राजालाई तरवारले मारे। (हासोरचाहिँ यी सबै राज्यहरूको केन्द्र थियो।) 11तिनीहरूले त्यहाँ भएका हरेकलाई तरवारले मारे। तिनीहरूले सास हुनेजति एउटैलाई नछोडी सबैलाई नष्‍ट गरे। अनि तिनले हासोरलाई पनि जलाइदिए।

12यहोशूले सम्पूर्ण राजकीय सहरहरू र तिनीहरूका राजाहरूलाई कब्जा गरे। अनि तिनीहरूलाई तरवारले मारे। याहवेहका सेवक मोशाले आज्ञा गरेअनुसार यहोशूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गरे। 13तैपनि इस्राएलीहरूले डाँडामा बनाएका कुनै पनि सहर जलाएनन्। यहोशूले हासोरलाई मात्र जलाए। 14इस्राएलीहरूले यस सहरहरूका सबै लुटका धनमाल र गाईबस्तु आफ्ना लागि लगे। तर सास फेर्ने एउटैलाई पनि जीवित नराखी सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले मारेर नष्‍ट पारे। 15याहवेहले आफ्ना सेवक मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले यहोशूलाई आज्ञा दिएका थिए। अनि यहोशूले त्यही गरे; याहवेहले मोशालाई दिनुभएको आज्ञाहरू एउटै पनि अधुरो नछोडी तिनले सबै पूरा गरे।

16यसरी यहोशूले सम्पूर्ण देश जिते: पहाडी मुलुक, सम्पूर्ण दक्षिणी भाग, गोशेनको सारा इलाका, पश्‍चिमी डाँडाहरू, अराबा र इस्राएलका पर्वतहरू अनि त्यसका फेदीहरूसमेत, 17सेइरदेखि माथिको हालाक पर्वतदेखि हेर्मोन पर्वत मुन्तिरको लेबनानमा भएको बेँसीको बाल-गादसम्म तिनले तिनीहरूका सबै राजाहरूलाई पक्रे, र तिनीहरूलाई मारे। 18यहोशूले यी सबै राजाहरू विरुद्ध लामो समयसम्म युद्ध गरे। 19गिबोनमा बस्‍ने हिव्वीहरूबाहेक एउटै पनि सहरले इस्राएलसँग शान्तिको सम्झौता गरेनन्। तर इस्राएलीहरूले तिनीहरू सबैलाई लडाइँमा जिते। 20किनकि याहवेह आफैँले इस्राएलसँग युद्ध गर्न तिनीहरूको हृदय कठोर तुल्याइदिनुभयो, ताकि याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलले तिनीहरूलाई निर्दयतासाथ पूर्ण रूपले नाश गरोस्।

21त्यस बेला यहोशूले गएर अनाकीहरूलाई पहाडी मुलुकको हेब्रोन, दबीर र अनाब, यहूदाको पहाडी मुलुक अनि इस्राएलका सम्पूर्ण पहाडी मुलुकबाट नष्‍ट गरे। यहोशूले तिनीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्‍ट गरे। 22इस्राएली प्रान्तमा एउटै पनि अनाकी रहेनन्। तर गाजा, गात र अश्दोदमा कोही-कोही मात्र बाँचेका थिए।

23यसरी याहवेहले मोशालाई निर्देशन दिनुभएझैँ यहोशूले सम्पूर्ण देश कब्जामा लिए। अनि त्यस देशलाई इस्राएलीहरूका कुलको दलअनुसार पैतृक सम्पत्तिको रूपमा तिनीहरूलाई दिए। त्यसपछि देशले युद्धबाट विश्राम पायो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]