Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Jeremiah 10 ONCV

Side by side with the Father's Heart Bible™

परमेश्‍वर र मूर्तिहरू

1हे इस्राएलका घराना हो, याहवेहले तिमीहरूलाई के भन्दै हुनुहुन्छ, सो सुन। 2उहाँले तिमीहरूलाई यसो भन्‍नुहुन्छ:“अरू राष्ट्रहरूका मार्गहरू नसिक,अथवा आकाशका चिन्हहरूद्वारा नआत्तिओ;यद्यपि ती राष्ट्रहरूचाहिँ ती चिन्हहरूद्वारा आत्तिन्छन्।

3किनकि तिनीहरूका रीतिरिवाजहरू व्यर्थका छन्;तिनीहरूले जङ्गलबाट एउटा रूख काट्छन्;अनि शिल्पकारले आफ्नो हतियारले त्यसलाई आकार दिन्छ।

4तिनीहरूले त्यसलाई चाँदी र सुनले सिँगार्छन्;हथौडाले काँटी ठोकेर तिनीहरूले त्यसलाई जोड्छन्,ताकि त्यो यताउता नहल्‍लिओस्।

5काँक्राबारीमा काग धपाउन राखिएको पुत्लाझैँ,तिनीहरूका मूर्तिहरू बोल्न सक्दैनन्;किनकि ती हिँड्न सक्दैनन्।ती मूर्तिहरूलाई बोकेर लैजानुपर्छ।तिनीहरूदेखि नडराओ;तिनीहरूले कुनै पनि हानि गर्न सक्दैनन्,न त तिनीहरूले कुनै असल कुरा नै गर्न सक्छन्।”

6हे याहवेह, तपाईंजस्तो अरू कोही पनि छैन;तपाईं महान् हुनुहुन्छ;अनि तपाईंको नाम महान् र शक्तिशाली छ।

7हे राष्ट्रहरूका राजा,तपाईंसँग कोचाहिँ डराउँदैन र?किनकि तपाईं आदरयोग्य हुनुहुन्छ।राष्ट्रहरूका सबै बुद्धिमान् मानिसहरूर तिनीहरूका सबै राज्यहरूमातपाईंजस्तो अरू कोही छैन।

8तिनीहरू सबै विवेकहीन र मूर्ख छन्;तिनीहरू काम नलाग्ने काठका मूर्तिहरूद्वारा सिकाइएका छन्।

9मूर्ति बनाउन तर्शीशबाट पिटिएको चाँदी रउपाजबाट सुन ल्याइन्छ।शिल्पकार र सुनारद्वारा त्यसलाई बनाइन्छ;अनि त्यसमा निलो र बैजनी रङ्गको लुगा लगाइन्छ।ती सबै थोक सिपालु कारिगरहरूद्वारा बनाइएका छन्।

10तर याहवेह सत्य परमेश्‍वर हुनुहुन्छ;उहाँ जीवित र अनन्तसम्मका राजा हुनुहुन्छ।जब उहाँ रिसाउनुहुन्छ, पृथ्वी थरथर काँप्छ;राष्ट्रहरूले उहाँको क्रोध सहनै सक्दैनन्।

11“तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले स्वर्ग र पृथ्वी बनाएनन्, ती पृथ्वी र आकाशमुनिबाट नष्‍ट हुनेछन्।’ ”

12तर परमेश्‍वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो;उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो;र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।

13जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ;उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ।उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ;अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ।

14हरेक मानिस विवेकहीन र ज्ञानहीन छ;हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ।किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्;तिनीहरूमा जीवनको सास हुँदैन।

15ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्;जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्।

16उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्‍न;किनकि उहाँ सबै कुराहरूको सृष्‍टिकर्ता हुनुहुन्छ,जसमा इस्राएल, उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्;सेनाहरूका याहवेह उहाँको नाम हो।

आउन लागेको विनाश

17हे घेराउमा परेर बसेका यरूशलेमका बासिन्दाहरू हो,देश छोड्नलाई आफ्ना सरसामानहरू बटुल।

18किनकि याहवेह यसो भन्‍नुहुन्छ:“यसै समयमा म यस देशमा बस्‍नेहरूलाईझटारो हानेर निकालिदिनेछु;म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु,ताकि तिनीहरू पक्राउ परून्।”

19मेरो चोटको खातिर मलाई धिक्‍कार छ!मेरो चोट निको नहुने किसिमको छ!तापनि मैले आफूलाई भनेँ,“यो मेरो रोग हो, र मैले यसलाई सहनैपर्छ।”

20मेरो पाल भत्काइएको छ;पालका सबै डोरीहरू चुडाइएका छन्।मेरा छोराछोरीहरू मबाट गइसकेका छन् र अब कोही पनि छैन;अब मेरो पाल टाँगिदिनेअथवा मेरो वासस्थान ठिक गरिदिने कोही पनि बाँकी छैन।

21गोठालाहरू विवेकहीन भएका छन्,र तिनीहरू याहवेहको खोजी गर्दैनन्;यसैकारण तिनीहरू सफल हुँदैनन्;अनि तिनीहरूका सबै बगालहरू छरपस्ट भएका छन्।

22सुन! यस्तो खबर आइरहेको छ,उत्तरको देशबाट एउटा ठूलो होहल्‍ला आइरहेछ!यसले यहूदाका सहरहरूलाई उजाड पार्नेछ,र स्यालहरूका ओडार बनाउनेछ।

यर्मियाको प्रार्थना

23हे याहवेह, म जान्दछु, मानिसको जीवन उसको आफ्नो हातमा छैन;तिनीहरू आफैँले आफ्ना पाइलाहरूलाई निर्देशन गर्दैनन्।

24हे याहवेह, मलाई सुधार्नुहोस्, तर तपाईंको न्यायअनुसार,तपाईंको रिसमा चाहिँ होइन;नत्रता तपाईंले मलाई भष्म पारिदिनुहुनेछ।

25तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याइदिनुहोस्,जसले तपाईंलाई परमेश्‍वर भनी स्वीकार गर्दैनन्;ती मानिसहरूमाथि, जसले तपाईंको नाम पुकार्दैनन्।किनकि तिनीहरूले याकोबलाई निलेका छन्;तिनीहरूले तिनलाई सर्लक्‍कै निलेका छन्;अनि तिनको जन्मभूमिलाई उजाड पारिदिएका छन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]