Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 27 ONCV

Side by side with the Father's Heart Bible™

यहूदाका राजा योताम

1योताम राजा हुँदा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्। 2तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे; तर तिनी याहवेहको भवनभित्र पसेनन्। तरै पनि मानिसहरू आफ्ना दुष्‍ट चालमा लागिरहे। 3योतामले याहवेहको भवनको माथिल्‍लो मूलढोका मर्मत गरे, र ओपेलको डाँडामा भएको पर्खालमा धेरै कामहरू गरे। 4तिनले यहूदाका डाँडाहरूमा सहरहरू र जङ्गलहरू भएका ठाउँहरूमा किल्‍लाहरू र धरहराहरू बनाए।

5योतामले अम्मोनीहरूका राजासित युद्ध गरे र तिनलाई जिते। त्यस वर्ष अम्मोनीहरूले एक सय टालेन्ट चाँदी, दश हजार कोर गहुँ र दश हजार कोर जौ तिरे। अम्मोनीहरूले तिनीकहाँ दोस्रो र तेस्रो वर्षमा पनि त्यही मात्रामा ल्याए।

6याहवेह आफ्ना परमेश्‍वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए।

7योतामको शासनकालका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र गरेका अरू कामहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। 8राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। 9योताम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाज राजा भए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]