Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Genesis 14 ONCV

Side by side with the Father's Heart Bible™

अब्रामले लोतलाई छुटाएका

1त्यस बेला शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योक, एलामका राजा कदोर्लाओमेर अनि गोयीमका राजा तिदाल मिलेर, 2सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर अनि बेलाका राजा (अर्थात् सोअरका) विरुद्धमा लडाइँ गर्न गए। 3यी पछिल्‍ला राजाहरू सबै एक भएर सिद्धीमको बेँसीमा (खारा समुद्रको बेँसीमा) भेला भए। 4तिनीहरू बाह्र वर्षसम्म कदोर्लाओमेरका अधीनमा थिए, तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।

5चौधौँ वर्षमा कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूले अस्तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावे-किर्यातैममा एमीहरू 6र सेइरको पहाडी देशमा भएका होरीतहरूलाई, मरुभूमितिर भएको एल-पारानसम्म परास्त गरे। 7त्यसपछि तिनीहरू फर्केर एन-मिशापात (अर्थात् कादेशमा) गए, र तिनीहरूले अमालेकीहरूका सम्पूर्ण देशका साथै हासेसोन-तामारमा बसोबास गर्ने एमोरीहरूलाई पनि पराजित गरे।

8त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयीमका राजा, र बेला (अर्थात् सोअरका) राजा निस्किगए र सिद्धीमको बेँसीमा 9एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल र एल्‍लासारका राजा अर्योकको विरुद्धमा—अर्थात् पाँचका विरुद्धमा चार राजाहरूले युद्धको मोर्चा बाँधे। 10अब सिद्धीमको बेँसीचाहिँ अलकत्राको खाल्डाले भरिएको थियो; अनि सदोम र गमोराका राजाहरू भाग्दा कति जना ती खाल्डाहरूमा खसे; अनि बाँकी रहेकाहरूचाहिँ पहाडहरूतिर भागे। 11ती चार जना राजाहरूले सदोम र गमोराका सबै सामान, र तिनीहरूका सबै खानेकुरा लिएर भागे। 12तिनीहरूले सदोममा रहेका अब्रामका भतिजा लोत र तिनका सम्पत्ति पनि लिएर गए।

13त्यहाँबाट उम्केको एउटा व्यक्तिले आएर यो कुरा हिब्रू अब्रामलाई बताइदियो। अब्रामचाहिँ आफूसित वाचामा रहेका एश्कोल र आनेरका भाइ एमोरीका मम्रेका ठूला रूखहरूको छेउमा बसोबास गर्दैथिए। 14जब अब्रामले आफ्नो नातेदारलाई कैद गरेर लगेका छन् भनी सुने, तब तिनले आफ्नो घरानामा जन्मेका तीन सय अठार जना तालिम प्राप्‍त मानिसहरूलाई लिए र तिनीहरूलाई दानसम्मै लखेट्दै गए। 15रातको समयमा अब्रामले तिनीहरूलाई आक्रमण गरेर परास्त गर्नका लागि आफ्ना मानिसहरूलाई विभाजन गरे, र दमस्कसको उत्तरमा भएको होबासम्म लखेटे। 16तिनले सबै मालसामान फिर्ता ल्याए; अनि स्त्रीहरू र अरू मानिसहरूसहित आफ्ना नातेदार लोत र तिनका सम्पत्तिलाई फर्काइल्याए।

17अब्रामले कदोर्लाओमेर र तिनलाई साथ दिने अरू राजाहरूलाई जितेर फर्केपछि सदोमका राजा शावेको बेँसीमा (अर्थात् राजाको बेँसीमा) तिनलाई भेट्न आए।

18तब शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर आए। तिनी सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए। 19अनि तिनले अब्रामलाई यसो भन्दै आशिष् दिए,“सर्वोच्‍च परमेश्‍वर, आकाश र पृथ्वीका सृष्‍टिकर्तालेअब्रामलाई आशिष् देऊन्।

20अनि सर्वोच्‍च परमेश्‍वर धन्यका होऊन्,जसले तपाईंका शत्रुहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।”त्यसपछि अब्रामले तिनलाई हरेक कुराको दशांश दिए।

21सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू दिनुहोस्, र सामानहरू तपाईं आफैँ राख्नुहोस्।”

22तर अब्रामले सदोमका राजालाई भने, “मैले याहवेह सर्वोच्‍च परमेश्‍वर, आकाश र पृथ्वीका सृष्‍टिकर्तातर्फ आफ्नो हात उचालेर शपथ खाएको छु, 23कि म तिम्रो केही कुरो पनि ग्रहण गर्नेछैनँ। एउटा डोरी अथवा जुत्ताको फित्तासम्म पनि लिनेछैनँ। तिमीले ‘मैले अब्रामलाई धनी बनाएँ’ भनेर कहिल्यै भन्‍न पनि सक्नेछैनौ। 24मेरा मानिसहरूले जे खाएका छन्, त्यो बाहेक म केही पनि ग्रहण गर्नेछैनँ; तर मसित जानेहरू—आनेर, एश्कोल र मम्रेले आ-आफ्ना भाग लिऊन्।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]