Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Exodus 8 ONCV

Side by side with the Father's Heart Bible™

1फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। 2यदि तैँले तिनीहरूलाई जान दिइनस् भने हेर्, म तेरो सारा देशमा भ्यागुताहरू पठाएर विपत्ति ल्याउनेछु। 3नील नदी भ्यागुताले भरिनेछ। ती भ्यागुताहरू तेरो महलभित्र, तेरो सुत्ने कोठाभित्र, तेरो खाटमाथि, तेरा अधिकारीहरूका घर-घरमा, तेरा प्रजामाथि, तेरो चुल्हा र पिठो मुछ्ने भाँडाहरूमा उक्लेर आउनेछन्। 4ती भ्यागुताहरू तँमाथि, तेरा प्रजामाथि र तेरा सबै अधिकारीहरूमाथि पनि आउनेछन्।’ ”

5तब याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर तपाईंको हात नदी, नाला, पोखरीहरूमाथि पसार्नुहोस्, र इजिप्ट देशमा भ्यागुताहरू उक्लेर आऊन्।’ ”

6यसकारण हारूनले इजिप्टका पानीहरूमाथि आफ्नो हात पसारे; अनि भ्यागुताहरू माथि निस्केर आए, र इजिप्ट देशलाई ढाकिदिए। 7तर जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यसै गरे; तिनीहरूले पनि इजिप्ट देशमा भ्यागुताहरू ल्याए।

8तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाऊन् भनी याहवेहसित बिन्ती चढाइदेओ, तब म तिम्रा मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउनलाई जान दिनेछु।”

9मोशाले फारोलाई भने, “मैले तपाईंका निम्ति, तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति नील नदीका बाहेक यी भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट मुक्त गरिऊन् भनेर प्रार्थना गरिदिने समय ठहराउने सम्मानचाहिँ म तपाईंलाई नै दिन्छु।”

10फारोले भने, “भोलि प्रार्थना गरिदिनुहोला।” मोशाले जवाफ दिए, “तपाईंले भन्‍नुभएझैँ नै हुनेछ, र तपाईंले याहवेह हाम्रा परमेश्‍वरझैँ अरू कोही छैन भन्‍ने जान्‍न सक्नुहुनेछ।

11यी भ्यागुताहरूले तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूलाई छोड्नेछन्; तर तिनीहरू नील नदीमा मात्र रहनेछन्।”

12मोशा र हारून फारोकहाँबाट निस्केर गएपछि मोशाले याहवेहकहाँ उहाँले फारोमाथि ल्याउनुभएका भ्यागुताहरूका निम्ति पुकार गरे। 13अनि याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो; अनि ती भ्यागुताहरू घर, आँगन र खेतहरूमा नै मरे। 14तिनीहरूले ती बटुलेर थुप्रो लगाए; र देश नै दुर्गन्धले ढाकियो। 15तर जब फारोले सबै शान्त भएको देखे, तब तिनले आफ्नो हृदय कठोर पारे, र याहवेहले भन्‍नुभएझैँ मोशा र हारूनका कुरा सुनेनन्।

भुसुनाहरूका विपत्ति

16फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो पसारेर जमिनको धुलोलाई हिर्काउनुहोस्,’ अनि त्यो सारा इजिप्ट देशभरि भुसुनै-भुसुना बन्‍नेछ।” 17तिनीहरूले त्यसै गरे; जब हारूनले लहुरो उठाएर जमिनका धुलोलाई हिर्काए, तब ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि आए। जमिनको सबै धुलो सारा इजिप्ट देशभरि भुसुनाहरू बने। 18तर जब ती जादुगरहरूले तिनीहरूका गुप्‍त कलाद्वारा भुसुनाहरू निकाल्न खोजे, तिनीहरूले सकेनन्। अनि ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि भइरहे।

19ती जादुगरहरूले फारोलाई भने, “यो सबै कार्यमा परमेश्‍वरको हात छ।” तर फारोको हृदय याहवेहले भन्‍नुभएझैँ कठोर थियो, र तिनले सुन्‍न मानेनन्।

झिँगाहरूको विपत्ति

20फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “बिहानै उठ् र फारो नदीमा जाँदा त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। 21तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँमाथि र तेरा अधिकारीहरूमाथि, तेरा मानिसहरूमाथि, र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु। इजिप्टियनहरूका घरहरू र तिनीहरू बसेका जमिन पनि झिँगाहरूले भरिनेछ।

22“ ‘तर त्यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेनको प्रान्तप्रति बेग्लै किसिमले व्यवहार गर्नेछु; त्यहाँ झिँगाको कुनै हुल हुनेछैन, र तैँले म नै याहवेह, यस देशमा छु भनी जान्‍नेछस्। 23म मेरा मानिसहरू र तेरा मानिसहरूको बीचमा भिन्‍नता पार्नेछु। यो अलौकिक चिन्ह भोलि हुनेछ।’ ”

24अनि याहवेहले त्यसै गर्नुभयो। फारोको महलमा र तिनका अधिकारीहरूका घरहरूभित्र धेरै मात्रामा झिँगाका हुलका हुल खनिए; र इजिप्टको जमिन झिँगाहरूद्वारा नाश भयो।

25तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “जाओ, र यस देशभित्रै आफ्ना परमेश्‍वरका निम्ति बलिदान चढाओ।”

26तर मोशाले भने, “यसो गर्नु उचित नहोला। हामीले याहवेह हाम्रा परमेश्‍वरलाई चढाएको बलिदान इजिप्टियनहरूले घृणा गर्छन्। हामीले तिनीहरूका दृष्‍टिमा घृणित बलिदान चढायौँ भने, के तिनीहरूले हामीलाई ढुङ्गाले हान्‍नेछैनन् र? 27हामीलाई याहवेह हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ तीन दिनको यात्रा गरेर उजाडस्थानमा गएर उहाँका निम्ति बलिदान चढाउनेछौँ।”

28फारोले भने, “म तिमीहरूलाई उजाडस्थानमा गएर याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति बलिदान चढाउन जान दिनेछु; तर धेरै टाढा नजाओ। अब मेरा निम्ति प्रार्थना गरिदेओ।”

29मोशाले जवाफ दिए, “म तपाईंबाट जाने बित्तिकै याहवेहसित प्रार्थना गर्नेछु, र भोलि यी सबै झिँगाका हुलहरू तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन्। तर यी मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउन जान नदिएर फारोले फेरि छलपूर्ण काम नगर्न निश्‍चय गर्नुहोला।”

30तब मोशा फारोकहाँबाट गए, र याहवेहलाई प्रार्थना चढाए। 31याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो: ती झिँगाका हुलहरू फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूलाई छोडेर गइहाले; एउटै झिँगा पनि बाँकी रहेन। 32तर यस पटक पनि फारोले आफ्नो हृदय कठोर पारे, र मानिसहरूलाई जान दिएनन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]